आज विश्व नै कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको छ। चीनको हुवई प्रान्तको बुहान सहरमा सन् २०१९ को उतरार्धमा कोरोना भाइरसको नवीन प्रजातिको कारणले फैलिएको यस महामारीबाट आज कुनै पनि देश अछुतो छैन। अत्यन्त तीव्र गतिमा फैलन सक्ने क्षमता भएको यस रोगले हालसम्म ३३,३७ भन्दा बढीले ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठनले दर्साएअनुरूप यो रोग लागेर ज्यान गुमाउनेमध्ये अधिकांशको स्वास्थ्य स्थिति ठीक नरहेको वा कुनै न कुनै दीर्घरोगले ग्रसित रहेको, प्रतिरक्षा प्रणाली अत्यन्त नाजुक रहेको र जीवनशैली अत्यन्त गडबड रहेको पाइएको छ। तर, सवल स्वास्थ्य स्थिति रहेकाहरूलाई भने यो रोगले त्यति विघ्न ग्रस्त पारेको र ज्यान लिइहालेको छैन।
यसर्थ आजको परिप्रेक्षमा कोभिड–१९को संक्रमणबाट जोगिन एवं यसको रोकथाम एवं बचाउको लागि सबैभन्दा भरपर्दो उपाय भनेको आफ्नो जीवनमा शक्ति वा प्रतिरक्षा प्रणालीलाई सबल पार्नु हो। हामीमध्ये धेरैलाई प्रतिरक्षा प्रणाली कसरी सबल वा दुर्बल हुन्छ भनेर थाह नै छैन। प्रतिरक्षा प्रणालीलाई सबल पार्ने कि दुर्बल पार्ने भन्ने विषय हाम्रै हातमा छ।
प्रतिरक्षा प्रणाली लाई सबल बनाउन सन्तुलित भोजन, उचित व्यायाम, समुचित विश्राम, सकरात्मक बिचार र सदाचारयुक्त व्यवहारको आवश्यकता पर्दछ भने यसको ठीक विपरित हाम्रो आनीबानी र जीवनशैली गडबड छ, खाना प्राकृतिक छैनन्, व्यायाम गर्ने बानी छैन, चेत र चिन्तन घटिया छ भने हाम्रो प्रतिरक्षा प्रणाली पनि कमजोर हुन सक्छ। आज म तपाईहरूलाई के गर्दा हाम्रो प्रतिरक्षा प्रणली कमजोर हुन्छ वा कस्ता आनीबानी एवं जीवनशैलीले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइरहेको हुन्छ भन्ने विषयमा बताउन गइरहेको छु।
प्रतिरक्षा प्रणालीलाई आघात पुर्याउने आनीबानीहरूः
१. राति नसुत्ने : प्रतिरक्षा प्रणालीलाई सबल बनाउन चाहनेहरूले निन्द्रा कहिले पनि माया मार्नु हुँदैन। त्यसमा पनि राति ९ बजेदेखि बिहान ५ बजेको बीचको निन्द्रालाई त कदापि कचमचिन दिनुहुँदैन। अनुशन्धानहरूले दर्साएअनुरूप राति राम्रोसँग नसुत्नेहरूको रगतमा प्रतिरक्षा कोषको संख्या कम भएको र रक्षात्मक साइटोकाइन्सको उत्सर्जन पनि राम्रोसँग नभएको पाइएको छ।
२. चिनीको सेवनः हामीले मीठो मानीमानी खाने गरेको चिनी वा चिनी हालिएका खानेकुरा स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन् भन्ने विषय धेरैलाई थाह नहुन सक्छ। तर, वास्तविकता बुझ्दा चिनी हाम्रो लागि मीठो विष हो। चिनीले प्रतिरक्षा प्रणालीका कोषहरूको किटाणु मार्ने क्षमतालाई दुर्बल गराइदिन्छ। यसरी दुर्बल हुनुमा यी कोषहरूलाई यथोचित कार्य गर्नका लागि आवश्यक भिटामिन सीलगायतका रसायनहरूलाई चिनीले कोषभित्र जान दिदैन।
फलतः यी कोषहरूको कार्यक्षमता घट्दछ। यदि चिया, कफी, कोकाकोला, सोडाजस्ता पेयको साथमा लिइएको चिनी हो भने यी रसायनहरूले प्रतिरक्षा प्रणालीमा अझ धेरै आघात पुर्याउँदछ। यसो हुनुको पछाडि चिया, कफी, कोकाकोला, सोडामा विद्यमान तत्वहरूले स्नायू तन्त्रलाई लठ्याएर धरै मात्रामा कर्टीसोल उत्सर्जन गर्दछ, जसले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्दछ।
३. मदिरापान : प्रतिरक्षा प्रणालीलाई दुर्बल बनाउने महत्त्वपूर्ण द्रव्य मदिरा पनि हो। मदिराले शरीरमा प्रतिरक्षक कोषहरूको उत्पादनलाई असर पुर्याउनुका साथै रगत, रक्तनली, नशा, नाडी, मुटु, कलेजो, आन्द्रा आदिलाई पनि आघात पुर्याउँदछ। यसका अतिरिक्त रक्सीले हाम्रो शरीरमा जलीय माध्यममा हुने अनेकौ जैव रासायनिक प्रतिक्रियाहरूलाई रोकीदिने र चुस्त प्रतिरक्षा क्रियाका लागि चाहिने रसायनको शंष्लेषणलाई समेत प्रभाव पार्दछ।
४. धुमपान : धुमपानका धेरै बेफाइदाका बारेमा धेरथोर सबैलाई थाहा नै छ। तर यसले प्रतिरक्षा प्रणालीलाई पार्ने असरका बारेमा धेरैलाई थाह नहुन सक्दछ। धुमपान गर्दा धूवाँमा विद्यमान अनेकौ हानिकारक तत्वहरूले प्रतिरक्षक कोषहरूको कार्यकुसलता कम गरिदिने, कोषहरूमा विद्यमान एण्टीअक्सिडेण्टको गतिविध निरस्त गरिदिने, धरै भन्दा धेरै फ्रि–रेडिकलहरूको उत्पादन गराइदिने र ती कोषहरूको डी.एन.ए.समेत ड्यामेज गरिदिने गर्दछ। कमजोर प्रतिरक्षा भएकै कारण कोभिड–१९ धुमपान कर्ताहरूमा भयावह बन्ने गरेको छ।
५ तनाव : मानसिक तनाव पनि प्रतिरक्षा प्रणालीको दुस्मन हो। तनावको स्थितिमा प्रतिरक्षा प्रणाली कमजोर हुनुमा तनाव हारमोन कर्टिसोल र एड्रिनालीन जिम्मेवार छ। शरीरमा कर्टिसोल र एड्रिनालीनको मात्रा ज्यादा भएको खण्डमा यी हारमोनले प्रतिरक्षाका कोषहरूलाई निष्कृय पार्ने एवं यी कोषहरूको किटाणु पहिचान क्षमतालाई समेत निष्तेज पारिदिन्छ।
६. घटिया खाना : सबल प्रतिरक्षा प्रणालीको लागि संतुलित, प्रकृतिक एवं पौष्टिक खानाको ठूलो महत्त्व छ। खानाको गुणस्तर खस्किँदा प्रतिरक्षा प्रणालीको कार्यक्षमता पनि खस्किन्छ। त्यसमा पनि जंङ्कफूड, रिफाइण्ड फूड र मीलावटी खानेकुराको सेवनले प्रतिरक्षा प्रणालीलाई बेस्सरी आघात पुर्याउँदछ। यी खानेकुराहरूमा प्रचुर मात्रामा स्याचुरेटेड फ्याट, प्रशोधित चिनी, चाहिनेभन्दा उच्च मात्रामा नुन, स्वादबर्धक रसायन, अजिनोमोटोजस्ता प्रिजरभेटिभ हालिएको हुँदा यी रसायनहरूले प्रतिरक्षा प्रणालीलाई असर पुर्याउँदछ। फलतः घाउ–खटिरा चाँडो निको नहुने, इन्फ्लामेसन भइरहने, क्यान्सरको जोखिम बढ्ने, मुटु तथा रक्तनलीका रोगहरू लाग्ने, एलार्जीले सताइरहने र प्रतिरक्षा प्रणाली आत्मघातीसमेत हुने गर्दछ।
७. पर्याप्त पानी नपिउने : शरीरमा हुने अनेकौं जैव रसायनिक क्रियाहरूलाई जलीय माध्यम चाहिन्छ। र, यो माध्यम दिइरहनका लागि पर्याप्त मात्रामा पानीको सेवन गरिरहनुपर्ने हुन्छ। शरीरमा पानी कम हुँदा फ्री रेडकलहरूको अत्याधिक उत्पादन भई कोषहरूले अक्सिडेटिभ स्ट्रेस झेल्नु पर्दछ। विभिन्न अनुशन्धानहरूले दर्साएअनुरूप प्रतिरक्षा प्रणालीका कोषहरूलाई यथोचित कार्य गर्नका लागि उर्जाभन्दा पनि पानीको पहिलो आवश्यकता रहन्छ।
८. व्यायाम नगर्ने : निष्कृय जीवनले प्रतिरक्षा प्रणालीलाई समेत निष्क्रिय पारिदिन्छ। व्यायाम र कसरतको माध्यमले जीवनलाई सक्रिय राख्दा तनाव कम हुने एवं सेता रक्तकोषहरूको उत्पादनलाई समेत बढाउँदछ। यसका अलावा व्यायाम एवं कसरतले विजातिय द्रव्यहरूको निष्कासनलाई समेत बढाउने हुँदा शरीरमा हानिकारक ब्याक्टेरिया एवं भाइरसको वृद्धि एवं बर्धन हुन दिँदैन। यसर्थ व्यायाम हाम्रो प्रतिरक्षा प्रणालीको लागि अत्यन्त राम्रो आदत हो। तर व्यायाम गर्ने नाममा कठिन प्रकारको व्यायाम गर्दा भने प्रतिरक्षा प्रणालीलाई असर पार्दछ।
९. औषधिको सेवन : रासायनिक औषधिहरूको दीर्घकालीन प्रयोगले पनि प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइरहेको हुन्छ। त्यसमा पनि केही औषधिहरू जस्तैः अत्मघाती प्रतिरक्षा प्रणाली जन्य रोगहरूका औषधि, किमोथेरापिका औषधि, स्टेरोइड आदिले त प्रतिरक्षा प्रणालीलाई प्रत्यक्ष दमन गर्ने हुँदा औषधिको प्रयोगमा पनि विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।
१०. दीर्घरोग : स्वास्थ्यमा दीर्घकालीन समस्या भएका जस्तैः उच्च रक्तचाप, मधुमेह, दम, खोकी, क्यान्सर, वाथरोग, एचआइभी, मिर्गौला रोग, अत्मघाती प्रतिरक्षा प्रणालीका समस्या झेलिरहेकाहरूको प्रतिरक्षा प्रणाली रोग लागेकै कारणले कमजोर भएको हुन्छ।
लेखक चितवनको भरतपुर-१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन्।
Facebook Comments


























