जिन्दगीमा अनेकन मोडहरू आइरहन्छन्। ‘आरोेह र अबरोहको संयोग जिन्दगी’ भनिएजस्तै मिश्रित भावानाहरूको मेल हो जिन्दगी। मलाई मेरो आफ्नो परिवेशसँग गुनासो हैन। म हिजोको दिनलाई साक्षी राखेर वर्तमान र भविष्यसँग पक्कै गुनासो गर्ने छैन। र, गर्दिनँ। तर, म कसरी म बनें भन्ने कुरा पक्कै महत्त्वपूर्ण रहन्छ होला।
आजको दिनमा मसँगको साक्षात साक्षी भएको व्यक्ति कुनै एक हो भने मेरी आमा नै हुन्। सबैका आ-आफ्ना कथा र व्यथाहरू पक्कै छन्। यिनै कथा र व्यथासँग मेरी आमाले साटेको जिन्दगी मलाई सधैँ घच्घचाउने प्रहर बनेको छ। मेरी पो आमा थिइन्। त्यो बाहेक उनी घरकी बुहारी पनि थिइन्। सबै काम जस्तोसुकै परिस्थितिमा पनि गर्छु भन्ने साहस जुटाउनुपर्ने बुहारी। चुल्हो चौकोदेखि गोठको भकारो अनि अगेनासम्मको काममा तल्लीन।
मंसिरको महिना। धान थन्काउनको चटारो। अघिल्लो दिन मात्रै आमाले आँगनमा दुईटा ठूलो कुन्यो लगाउनुभएको थियो। रातको खाना खाएर सबैजना सुतिसक्नुभएको थियो। बुहारी घरधन्दा नभ्याई कहाँ सुत्न पाउनू ? दिनभरीको थकाई त छँदै थियो। अचानक पेट दुख्न पनि शुरु भयो। बिस्तारै दुखाई बढ्दै गयो। रात छिपिँदै थियो सबेै गहिरो निद्रामा थिए। कसैलाई उठाउन सक्नुभएन। उज्यालो पर्खिएरै रात बिताउनुभयो।
बिहानीपख पीडा झन्झन् बढेपछि हजुरआमाले छिमेकका केही दिदीबहिनीलाई बोलाएर ल्याउनुभयो, आमाको पीडामा सघाउन। आमालाई त्यो पीडा मैले नै दिएको थिँए। म पनि यो संसारमा आउन संघर्ष गरिरहेको थिएँ। सायद मैले बुझेकी भए तिमीलाई यति पीडा दिने थिइन होला। भर्खरै बिहानीको घामको किरण धर्तीमा आउँदै थियो। म जन्मिएँ। मेरो जन्मसँगै तिम्रो पनि पूनर्जन्म भयो।
जन्मिसकेपछि हजुरआमाले बाल्टीमा पानी टकारिदिनु भएछ नुहाउनको लागि। आमा पनि अब त म हल्का भएँ भनेर पानीको भारी बाल्टी बोकेर अलि पर गएर नुहाउनुभएछ। त्यसपछि के भयो आमाले थाहा नै पाउनुभएन। आँखा खोल्दा छिमेकी भाउजूको काखमा हुनुहुँदो रहेछ। व्युँझिएर हेर्दा रगतको ताल परेको थियो। एक हात जति मिलाएर राखिएको पराल, परालमाथिको गुन्द्री र गुन्द्रीमाथिको थाङ्गना सबै भिजेको थियो। छोराछोरी टुहुरा होलान् कि भन्ने पीरले पनि तिमीले बाँच्ने हिम्मत गर्यौ त्यो बेला। केही खानेकुरा खाएपछि आँखा उघार्नसम्म सके पनि रगत थामिएन। माइती गएपछि हजुरआमाले के-के औषधि खुवाएपछि मात्र रोकियो। कति पीडा दिएँ नै है आमा मैले!?
म आमाको दोस्रो सन्तान। म जन्मँदा दाइ तीन वर्षको हुनुहुन्थ्यो। आमा हुनु खुशी, दुःख, पीडा र अनुभव त थियो। पहिलो सन्तान जन्माउँदा पनि थोरै पीडा कहाँ थियो र? लामो व्यथापछि अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेपछि मात्र थाहा भयो साल बेरिएको रहेछ। पहिलो सन्तान छोरा भएसँगै आमाको सपना थियो छोरीको। आमाको सपना स्वरुप नै म जन्मिएकी थिएँ। आँखा अगाडि तीन वर्षको बालक आमालाई टुलुटुलु हेरिरहेको छ। भर्खरै जन्मिएकोलाई पनि काखमा लिन सकिरहेको छैन। झोलुङ्गो राखेर काम गर्नुपर्यो। म झोलुङ्गोमा बस्दिनँ भनेर रुन्थेँ होला। अहिलेजस्तै त्यतिबेला पनि त लाग्थ्यो होला नि तिमीसँग बस्ने मन।
तिमी धान गोड्न जाँदा म जहिले नि कुलोको डिलमा तिमीलाई हेरेर बस्थेँरे। तिम्रो आँखा मतिरै हुन्थ्यो। कतै कुलोमा पर्छे कि भन्ने डर। फेरी अर्को डर थपियो। म दुई वर्षको हुन लाग्दासम्म पनि आमा भनेर बोलाएको थिइनँ। छोरी लाटी हुन्छकी भन्ने चिन्ता। पछि कागसँग पिरती बस्यो। उसको का-कासँगै मेरो बोली फुर्यो। पहिलो पटक ‘आमा’भन्दा तिमी कति खुसी भएकी थियौ। म धैरै नबोल्ने भएकोले पछिसम्म पनि मेरो नाम ‘लाटी’ रह्यो। मायाले लाटी भनेर बोलाउँदा मलाई पनि राम्रै लाग्थ्यो।
जेठो सन्तान भएकोले पनि तिमीले सानैदेखि बा’को काममा सघायौ। तीन बहिनी र एक भाइ हुर्काउने जिम्मेवारी पनि तिमीमै रह्यो। पढ्न पनि कति नै पायौ र? मात्र आठ कक्षा। र पनि कति धेरै व्यवहारिक ज्ञान तिमीसँग? यदि अझै पढ्न पाएको भए सायद यति दुःख गर्नुपर्दैनथ्यो। ‘बा म अझै पढ्छु नि’ भन्ने मन त थियो। तर भनिनौ। फकाएकै सम्झाएकै भरमा खुरुक्क हिँडिदियौ पराईको घर। को हो, घर कहाँ हो, के गर्ने केही नसोधी बिहे भयो। आफ्नो बिहेबारे आफैँ अनभिज्ञ।
तिम्रा पुराना फोटो देख्दा लाग्छ, उमेरमा त तिमी पनि कुनै नायिकाभन्दा कम थिइनौ। पर्दाको न सही, तिमी नायिका नै हौ वास्तविक जीवनको, हामी सन्ततीको। तिमी सम्झिन्थ्यौ नि! सानोमा एकपटक दशैको बेला गाँउमा केटा साथीसँग पिङमा दोहोरी खेल्दा हजुरबुबाले देखेर पिट्न आउनुभएको। के गर्छ्यौ? त्यस्तै बेला जन्मियौ। त्यतिबेलाको समाजिक परिवेश नै त्यस्तो थियो, जतिबेला महिलाले पढ्न पाउँदैनथे, आफ्ना कुरा खुलेर राख्न पाउँदैनथे।
आफूभित्र दुःख लुकाएर सधैँ छोराछोरीको खुशीको लागि सोचिरहेकी छौ। तिम्रा आफ्नै सपना पनि त थिए होलान्। तर आज हाम्रा सपनाहरूलाई आफ्नो बनाएकी छौ। म तिम्री सपना। मैले तिम्रा सपनाहरु पूरा गर्नुछ।


























