काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा ओली विश्वासको मत प्राप्त गर्न असफल भएका हुन्।
मतदानमा सहभागी जम्मा २३२ जना मध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४, र मत दिन्न भन्नेमा १५ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
तत्काल कायम रहेको संख्याको बहुमत नरहेकाले प्रस्ताव अस्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरे। प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन्।
एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत नेपाल(खनाल समूहका सांसद मतदानमा अनुपस्थित भएका थिए।
यसअघि प्रतिनिधिसभा बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको थियो। त्यसअघि सभामुख अग्नि प्रसाद सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए। मतदानअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए।


























