काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप खरिदमा भ्रष्टाचार भएको भए दोषीलाई काननअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताको जीवन रक्षा सरकारको पहिलो शर्त हो, यस्तोमा कोरोनाविरुद्धको खोप खरिदसम्बन्धी संवेदनशील विषयमा पनि यदि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध कुनै पनि हालतमा क्षम्य हुँदैन र अनुसन्धानबाट पुष्टि भए कानुनअनुसार कारबाही पनि हुन्छ।’
भारतबाट आउने भनिएको कोभिसिल्ड खोप कमिशनमा कुरा नमिलेपछि नेपाल आउन नसकेको स्वास्थ्य मन्त्रालयले नै जनाएको थियो। जसमा सिरम इन्स्टिच्युट अफ इन्डियाको नेपालका लागि स्थानीय एजेन्ट हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक्सले ३४ करोडभन्दा बढी रुपैयाँ कमिशन मागेपछि थप ५० लाख खोप खरिद गर्ने कुरा अघि बढेपनि कार्यान्वयन हुन सकेको थिएन । यसबारे जानकारी हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले त्यसतर्फ चासो नदिएको आरोप लाग्दै आएको थियो।
प्रधानमन्त्री ओलीले उक्त खरिद प्रकरणमा कतैबाट पनि सम्बन्ध नभएको विषयमा प्रधानमन्त्रीलाई मुछ्ने काम गरिएको भन्दै त्यसको खण्डन गरे। ‘कोभिडविरुद्धको खोप खरिदमा भएको भनिएको भ्रष्टाचारमा हुँदै नभएको कनेक्सन देखाएर माहोल उछाल्ने काम भयो,’ उनले भने, ‘प्रधानमन्त्री वा सरकारमाथि हिलो छ्याप्ने काम भयो।’
कोरोना महामारीले विश्व नै आक्रान्त बनाइरहेको सन्दर्भमा नेपाल पनि त्यसबाट पीडित भएको उनको भनाइ थियो। तर कोरोना नियन्त्रणमा सरकारलाई साथ नमिलेको भन्दै उनले गुनासो गरे। ‘कारण जेसुकै होस् हाम्रो ध्यान जे कुरामा केन्द्रित हुनुपर्थ्यो त्यसमा हुन सकेन। सरकारले कोरोना नियन्त्रण र विकासमा ध्यान केन्द्रित गर्न चाह्यो तर अनेक अप्ठ्याराहरुको सामना गर्नुपर्यो,’ उनले भने। सामान्य संरचना र पूर्वाधार रहेको अवस्थाबाट सुरु गरिएको कोरोनाविरुद्धको लडाइँमा धेरै हदसम्म सुधार भएको उनको दाबी छ। मुलकभर हाल ८६ वटा कोभिड पीसीआर प्रयोगशाला स्थापना गरिएको जनाउँदै उनले हाल अक्सिजनको अभाव हटाउन पनि सरकार लागिपरेको जनाए।
उनले स्थानीय तह, प्रदेश सरकार, सरकार विभिन्न अंग, संघसंस्थ लगायतको साथ सहयोगकै आधारमै कोरोनाको पहिलो लहरलाई तुलनात्मक रुपमा न्यूनतम क्षति हुनेगरी सफलतापूर्वक नियन्त्रणमा लिएको दाबीसमेत गरे।


























