काठमाडौं, बैशाख १८ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जोखिम कम गर्नका लागि आन्तरिक उडान बन्द गरिनु पर्ने सुझावसहितको सिफारिस सिसिएमसीले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।
सिसिएमसीको शुक्रबारको बैठकले सो सिफारिस गरेको हो। मन्त्रीपरिषदमा सो सिफारिसमाथि छलफल हुने मन्त्री ढकालले जानकारी दिएका छन्। मन्त्रीपरिषदको बैठक आइतबार बस्ने सम्भावना छ।
मन्त्री ढकालले भने, ‘सिसिएमसीले सिफारिस गरेको छ। सुझावसहित आन्तरिक उडान बन्द गर्नु पर्ने सो सिफारिसमाथि मन्त्रीपरिषदमा छलफल भइ निर्णय हुनेछ।’
काठमाडौँ उपत्यकामा गएको बिहीबारदेखि निषेधाज्ञा लागु भएको छ। सार्वजनिक यातायातमा रोक लगाइए पनि आन्तरिक उडान भने सुचारु छ। विमानस्थलमा यात्रुको चाप हुँदा संक्रमणको जोखिम बढेको विज्ञले बताइरहेका बेला सिसिएमसीले आन्तरिक उडान पनि रोक्न सरकारलाई सिफारिस गरेको हो।

























