बाँके, बैशाख १८ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेका बेला बाँकेमा उपचाररत कोरोना संक्रमित निको हुने क्रम पनि बढ्दै गएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो १ हप्तामा जिल्लाका ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
यसरी संक्रमणमुक्त हुनेहरूमा अधिकांश होम आइसोलेसनमा बसेका संक्रमित हुन्। कोरोना पुष्टि भएको १० दिनपछि लक्षण चिन्ह देखिएको बिरामीलाई उपचारमा लैजाने र लक्षण चिन्ह नदेखिएकालाई संक्रमणमुक्त भएको मानिने गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए।
बाँकेमा वैशाख १७ गते २०५ जना वैशाख १६ गते २४४ जना १५ गते ८८ जना १४ गते १०६ जना १३ गते १२५ जना १२ गते १२ जना र ११ गते ३७ जना निको भएको फोकल पर्सन वलीले जानकारी दिए।
संक्रमण मुक्त हुनेको संख्या बढ्दै गए पनि निको हुनेको तुलनामा संक्रमण हुने दर भने बढी नै छ। पछिल्लो हप्तामा बाँकेमा ८१७ जना संक्रमणमुक्त हुँदा ३२ सय २४ जना संकमित थपिएका छन्। बाँकेमा वैशाख १७ गते ६२८ जना वैशाख १६ गते ४९६ जना १५ गते ५५३ जना १४ गते ५२६ जना १३ गते २५६ जना १२ गते ३४३ जना र ११ गते ४२२ जना संक्रमित थपिएको फोकल पर्सन वलीले बताए। जिल्लामा हाल ३ हजार ४ सय ४७ जना होम आइसोलेसनमा छन्।


























