बैशाख १७ । धौलागिरी हिमालको आधार शिविरमा हेलिकोप्टरको भग्नावशेष र दुई वटा शव फेला परेको छ। नेपाली सेनाको चालु हिमाल सफाइ अभियानअन्तर्गत धौलागिरी हिमालको आधार शिविरमा हेलिकोप्टरको पाटपुर्जा र दुईवटा शव भेटिएको सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलले जानकारी दिए।
१५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ। सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरको अवशेष भेटिएको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ।
मृतकको पहिचान नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको नेपााली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाको हिमाल सफाइ अभियानका सदस्यहरूले हिजो (बिहीवार) हेलिकोप्टरको भग्नावशेष र दुई शव फेला पारेका हुन्।
जारी हिमाल सफाइ अभियानका क्रममा सेनाले ५ हजार १५४ केजी फोहोर संकलन गरेको जनाएको छ। जसमा ३५५ केजी जैविक र ४ हजार ७९९ केजी अजैविक फोहोर संकलन गरिएको छ।

यस्तो छ सेनाले जारी गरेको सूचना


























