काठमाडौं, बैशाख १७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले तहगत अधिवेशनहरूको तिथि तय गरेको छ। गत वैशाख ६, १० र १२ गते भएको केन्द्रीय कमिटी बैठकको निर्णय सर्कुलर गर्दै एमालेले तहगत अधिवेशनको तिथिलाई अन्तिम रूप दिएको छ।
पार्टीका महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई कमिटीले परिमार्जनसहित पारित गरेर अन्तरपार्टी निर्देशन अपानिमार्फत् जिल्ला तहमा सर्कुलर गरेको हो।
अपानिमा असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरेसँगै स्थानीय र प्रदेश तहका अधिवेशनहरू गर्ने भनिएको छ। एमालेले २०७८ साउन २५–२७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने अपानिमा उल्लेख छ।
भदौ ५ गते वडा अधिवेशनको तिथि तोकिएको छ। भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन गर्ने ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठानात्मक योजना तय गरिएको छ।
असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ। तत्पश्चात सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने।
मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ। फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटीले नै महाधिवेशनसम्बन्धी निर्णय गरेको थियो।


























