काठमाडौं, बैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन्।
आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ। आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो। त्यस्तै अहिले चलिरहेका सम्पूर्ण तहका परीक्षा तत्काल रोक्ने निचोडमा पुगेको थियो।
कोभिड सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीका अनुसार अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरिएको थियो। मन्त्रिपरिषद् बैठकले यिनै विषयमा विस्तृतमा निर्णय गर्ने बताइएको छ।


























