काठमाडौं, बैशाख १२ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सबै तहका परीक्षा स्थगन गर्न सिफारिस गरिएको छ। आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो।
भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको सीसीएमसीको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।
त्यसैगरी बैठकले भोलिदेखि शुरु हुने विद्यालय तहका सबै परीक्षा पनि स्थगित गर्न सिफारिस गरेको उनले बताए। बैठकमा काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन गर्न समेत विज्ञहरुले सुझाव दिएका छन्।
बैठकले लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ। बैठकले सक्रिय संक्रमितको संख्या ५०० पुगेमा सीडीओले नै निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गरेको हो।
यसअघि नेपालमा कोरोनाको जोखिम बढेसँगै सीसीएमसीले सबै विद्यालय वैशाख महिनाभर स्थगन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषदले लागू गरिसकेको छ। आज मात्रै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ थपिएको छ भने एकैदिन ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।


























