काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्।
बिहीबार होटल मेरियटमा करीव डेढ घण्टा भएको एक्लाएक्लै छलफलमा पार्टी विवादका विषयमा केन्द्रीत रहेको भए पनि खासै प्रगति नभएको उनले बताएका हुन्। भेटपछि बाहिरिएका ओलीले भने कुनै प्रतिक्रिया दिएनन्। अर्का नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै कुराकानीमा कुनै प्रगति नभएको बताए।
उनले भने, ‘हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन।’ उनले मिल्ने सम्भावना पनि नदेखिएको र अब छलफल कहिले हुन्छ भन्ने पनि टुंगो नभएको बताए।
बिहीबारको भेटका क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको अवलोकन गरेका थिए। नताद्वयबीच बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो।
सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो।
ओलीले नेपालसहित एमालेका २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीको विवाद थप उत्कर्षमा पुगेको छ। नेपालपक्षले ओलीली विरुद्ध आजै सर्वोच्च रिट निवेदन समेत दर्ता गरिसकेको छ। आइतबार पेसी तोकिएको छ।


























