चितवन, बैशाख ७ । मंगलबार बिहान बालुवाटारमा विधिवत् रुपमा पुजा गरी पठाइएको राम सीताको मूर्ति स्थापनाका लागि आफूहरु तयार भएको चितवनका स्थानीय जनप्रतिनिधिहरु बताउँछन्।
‘हामीले सबै तयारी पूरा गरिसक्यौं, राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमालाई अयोध्यामा भित्र्याउन आतुर छौं’– चितवनको माडी नगरपालिका–८ का वडाध्यक्ष कृष्णराज अधिकारीको भनाइ छ।
काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक विधिअनुसार रथयात्रासहित मंगलबार बिहान बिदा गरिएको राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमा बोकेका गाडी अहिले चितवनतर्फ आउँदै छन्। चितवनको अयोध्याबासी भने रथको स्वागतको तीब्र प्रतिक्षामा छन्।
भगवान रामको जन्मथलो कहलिएको माडीस्थित अयोध्यामा बुधबार राम नवमीको अवसर पारेर राम, सीता, लक्ष्मण र हुनमानको प्रतिमा स्थापना गरिँदै छ। त्यहाँ स्थापना गरिने प्रतिमा प्रधानमन्त्री ओलीले बनाउन लगाएका हुन्। ती मूर्तिहरु आज वैदिक विधिद्धारा मन्त्रोच्चारण गरी काठमाडौंबाट चितवन पठाइएको छ।
प्रतिमा स्थापना गरिने माडीको वडा नम्बर ८ र ९ मा पर्ने अयोध्यामा मन्दिर निर्माणको काम सकिएको छ। माडी–९ का वडाध्यक्ष शिवहरि सुवेदीले पनि प्रतिमा स्थापनाको सम्पूर्ण तयार पूरा भइसकेको बताएका छन्।
अयोध्यामा आज बिहानैबाट स्वस्ती वाचनसहित यज्ञका साथै अखण्ड किर्तन र पूजा आजा पनि सुरु भएको छ। ‘पण्डितजीहरुबाट मन्त्रोचारणसहित यज्ञ सुरु भएको छ, भोलि बिहान श्रीराम संस्थाले रामायणको झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ’। उनले बताए।
काठमाडौंबाट हिंडेका रथ आज देवघाट बस्ने छन्। भोलि बिहान अयोध्यामा रथ पुगेपछि प्रतिमा स्थापना गरिने कार्यक्रम छ। ‘हामीले सबै तयारी पूरा गरेका छौँ, अब रथ कतिखेर आइपुग्छ भनेर प्रतिक्षारत छौँ’। अध्यक्ष सुवेदीले भने।
भोलि बिहान रथ पुगेपछि प्रतिमा स्थापना गरिने छ। त्यसपछि अयोध्यामा विशेष कार्यक्रमको आयोजना हुने छ। सो कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि मञ्च व्यवस्थापन लगायत काममा आफूहरु जुटेको अध्यक्ष सुवेदीले बताए।


























