चितवन, बैशाख ७ । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माण भएको जलबीरे पुल सञ्चालनको तयारीमा रहेको छ। पुल निर्माणको काम सकिएसँगै सवारी गुड्ने अनुमति दिन लागिएको हो। घुमाउरोसँगै साँघुरो सडक भएकाले दुर्घटनाको जोखिम धेरै रहेको उक्त ठाउँमा पक्की पुल निर्माणसँगै २६५ मिटर दूरी छोटिएको छ।
पुलको ९९ दशमलव ९ प्रतिशत काम सकिएकाले सवारी गुड्ने अनुमति दिने तयारीमा रहेको सडक आयोजनाकी सूचना अधिकारी एवं इन्जिनियर सविना रानाभाटले जानकारी दिइन्।
मन्दिर छेउछाउमा केही क्याभिन पूरा गर्ने काम बाँकी रहेको उनको भनाइ छ। ८० मिटर लामो पुल निर्माणका लागि रौताहा कन्सट्रक्सनलाई २०७४ असोज २३ मा १३ करोड ९४ लाख रुपैयाँमा ठेक्का दिइएको थियो।
जलबीरे पुल सँगै यो सडकखण्डमा अन्य १५ वटा पक्की पुलहरु निर्माण भइरहेका छन्। सडक विस्तार भए पनि पूराना पुलहरू नहटाउँदा जाम पर्ने र दुर्घटना समेत बढेपछि सरकारले नारायगढ–मुग्लिन सडकमा १५ वटा पक्की पुल निर्माणको कार्यलाई अघि बढाएको थियो। बाँकी निर्माण भइरहेको पुल अनुप कन्सक्ट्रक्सनले बनाइरहेको रानाभाटले जानकारी दिइन्।


























