चितवन, बैशाख ७ । हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष बन्द गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोनाका जोखिमका कारण बन्द भएको हो। सरकारले २५ भन्दा बढीको भेला हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेसँगै गत चैत ३१ गतेदेखि शुरु भएको सो मेला बन्द गरिएको हो।
कोरोनाको सङ्क्रकणको जोखिम रहेकाले यस वर्ष पनि मेला बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। गत वर्ष कारोना जोखिका कारण सो मेला स्थगन गरिएको थियो। विक्रमबाबा मेलामा भक्तजनका निकै भीड लाग्ने र यसले थप कोरोनाको जोखिम बढाउने हुँदा दुई वर्षदेखि मेला बन्द गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।
चैते दशैँलाई लक्षित गरी हरेक वर्ष चैत्र औंँसीदेखि पूर्णिमासम्म मेला लाग्ने गथ्र्यो। विक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढ्दै गएको थियो।
विक्रमबाबामा दर्शन गर्नाले सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। चैते दशैंमा हजारौं भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपक्षी बलि दिने गर्दथे। किम्बदन्तीअनुसार विक्रम नाम गरेको आदीवासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वास छ।


























