काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा सभामुखविरुद्ध गम्भीर आरोप लगाएका छन्। उनले सभामुख अग्नीप्रसाद सापकोटाले संसदमा अनैतिक काम गरिरहेको आरोप लगाएका हुन्।
संसदमा सभामुख सापकोटाले काम गर्न नदिएको भन्दै आक्रोश पोख्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी राप्रपा नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए।
“बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको भन्ने शब्द प्रयोग गर्नुभयो,” नेता लोहनीले भने, “कोरोना नियन्त्रणका विषयमा हामीले ६/७ बुँदामा सुझाव दियौं।”
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी भए।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने सहभागी भएनन्।


























