काठमाडौं, बैशाख ४ । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन्।
आज (शनिवार) काठमाडौंमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन्। जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए।
निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो र्दुभाग्य हुने बताएका हुन्। सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए।
उनले भने “ राजनैतिक अस्थिरता भईरह्यो भने , सरकार ढाल्ने खेल भयो भने। सरकार त ५ बर्षका लागि आएको हो निर्वाचित भएर। सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन। एउटा अवधिसम्म बस्ने हो। त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन्। राम्रो काम भएन भने जनताले दण्डित गर्छन्। यसलाई त हामीले मानेको हो नि। तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले र्दुभाग्य निम्त्याउँछ। विकास र निर्माणका काम पनि रोकिन्छन्। समाजमा भद्रगोल श्रृजना हुन्छ। अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोज्दै छ। सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने। राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ। सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ। यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। जनतामा निरासा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो राम्रो हुदैन।”
उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण सृजना भएको बताए। स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पुर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो। उनले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाईने पनि बताए। उनले स्थानीयस्तरमा हुने विकाश निर्माणलाई राजनैतिक रुपमा नहेर्न आग्रह गरे। राजनैतिक रुपमा प्रतिस्पर्धा भएपनि विकास निर्माणमा मिलेर लाग्नुपर्नेमा उनले जोड दिए।


























