काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
थापाका अनुसार बैठकमा मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफल हुनेछ। विघटित प्रतिनिधिसभा पुनर्स्थापना र साविक नेकपामा आएको विभाजनपछि बढेको राजनीतिक अन्योलताकाबीच डाकिएको बैठकलाई चासोका साथ हेरिएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले बढ्दै कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यामा दलहरूको धारणा बुझ्ने तयारी गरेका छन्। नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसदमा छन् ।


























