चितवन, बैशाख ३ । प्रधानमन्त्री निवास बालुवाटारमा बनाएर राखिएको राम–सीताको मूर्ति रथ यात्रासहित चितवनको माडी अयोध्यापुरीमा ल्याउने तयारी भएको छ। बैशाख ८ गते राम नवमीको दिन अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्नका लागि बालुवाटारमा बनाएर राखिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याउन लागिएको हो।
२०७७ असार २९ गते प्रधानमन्त्री केपी ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि यहाँ राम मन्दिर स्थापना गर्ने प्रकृया सुरु भएको हो। ओलीको निर्देशनमा तीन महिना अगाडि नै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो।
मूर्ति ल्याएर राम मन्दिर स्थापना गर्ने विषयमा बिहिबार सरोकारवालाहरु बीच छलफल भएको छ। मूर्तिलाई बैशाख ७ गते पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित रथमा राखेर माडीतर्फ ल्याइने बागमती प्रदेशका सांसद विजय सुवेदीले बताए।
‘सम्माननिय प्रधानमन्त्रीबाट कलश र बग्गी सहितको शोभायात्राको प्रारम्भ हुने छ’, उनले भने, ‘त्यो दिन देवघाटमा आएर बस्ने र भोलिपल्ट मूर्ति पुजन गरेर फेरि माडीतर्फ लाग्ने कार्यक्रम छ।’
देवघाट क्षेत्र विकास समितिले श्रद्धालुहरुलाई खान र बस्नको व्यवस्था गर्ने छ। त्यसको व्यवस्थापनका लागि एक दर्जन उप(समितिहरु गठन भएको छ। भोलिपल्ट बैशाख ८ गते बिहान ८ बजे देवघाटको वेणी संगमको जलले मूर्तिलाई अभिषेक गराई स्वस्ति वाचनसहित विशेष पूजा गरी पुनः रथयात्रा सुरु हुने छ। भरतपुर महानगरपालिका–२९ को दासढुंगा हुँदै आँपटारी–नारायणगढ–चौविसकोठी भएर रथयात्रा माडीतर्फ लाग्ने सुवेदीले बताए।
रथ यात्राको क्रममा ट्राफिक व्यवस्थापन र सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालय चितवनले गर्ने उनले बताए। माडी प्रवेश गरेपछि कलश सहितको रथयात्रा माडी नगरपालिका–९ अयोध्यापुरीको प्रस्तावित राम मन्दिर निर्माणस्थल कृष्णनगर पुग्ने छ। कृष्णनगरमा अहिले अस्थायी राममन्दिर निर्माण हुँदै छ। मूर्तिलाई सोहि मन्दिरमा स्थापना गरिने कार्यक्रम छ।

























