काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गरेर उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन्।
नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए।
सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिरहेका छन्। राजनीतिक खिचातानीका बीच जनतामा आशा जगाउने काम गरेको उनले दाबी गरेका छन्। केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए।
‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौँ, जनतामा आशा जगाउने काम भएको छ’ प्रधानमन्त्री ओलीले भने।
प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले दाबी गरे। सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए।
आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए। करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको उनले बताए। सम्बोधनमा उनले समसामयिक राजनीतिक घटनाक्रम, देशको परिस्थिती र सरकारी कामका उपलब्धिलाई समावेश गरेका थिए।


























