काठमाडौं, चैत्र ३१ । नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम र उपचारमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्ति जारी गर्दै फेरि कोरोना संक्रमणको जोखिम बढेकाले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो।
समितिका संयोजक एवं कांग्रेस सह–महामन्त्री डा.प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरिएको छ।
‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ। साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौँ।’ विज्ञप्तिमा उल्लेख छ।
यस्तै, समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ, भनिएको छ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गम्भीर बन्न भन्दै कांग्रेसले आठ बुँदे माग अघि सारेको छ।


























