चितवन, चैत्र ३० । चितवनमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टरमा सवार पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए।
ट्याक्टरमा २२ जनाभन्दा बढी सवार रहेको उनले बताए। दुर्घटनामा केही घाइते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जाकारी दिए।
दुर्घटनमा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन्। एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन।


























