काठमाडौं, चैत्र २३ । काठमाडौँ फेरि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ। वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो।
वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको सोमबार बिहान १० बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ। काठमाडौँपछि दोस्रो नम्बरमा म्यान्मारको यान्गोन शहर परेको छ।
एआईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३३१ पुगेको छ। सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ। एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ।
वातावरण विभागको मापनमा बिहान पौने १० बजे भक्तपुरको एआईक्यू ३४०, धादिङको ३७२, भरतपुरको ३५७ , सौराहाको ३०७ छ। काठमाडौंमा अहिले तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन। काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ। वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको पछिल्लो अपडेटमा देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।
आगलागी र डढेलोसँगै मुलुकभर पश्चिमी वायुको प्रभावले प्रदूषित हावा काठमाडौँको आकाशमा आएर धुप्रिएको मौसमविद्ले बताएका छन्।


























