काठमाडौं, चैत्र १८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट उचाइमा पुर्याउन चाहेको बताएका छन्। बुधवार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको समुद्घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने अभियानमा आफू लागेको बताएका हुन्।
उनले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्याउन नदिने संकल्प समेत गरे। त्यसका लागि देशैभरका कम्युनिस्ट र नेकपा एमालेका योद्धाहरूलाई पार्टीको एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका पक्षमा तथा सबै खालका विकृति विसंगतिबाट मुक्त गरी क्रान्तिकारी स्वरूप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारे।
उनले भने, ‘हामी आन्दोलनलाई नयाँ उचाइमा नयाँ शिराबाट उठाउन चाहन्छौं। आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्याउन चाहिरहेका छौं र हाम्रो सङ्कल्प छ। कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं। कम्युनिस्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं। कम्युनिस्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौं। यो हाम्रो सङ्कल्प हो।’
नेता नेपालले थपे, ‘यो सङ्कल्पमा साथ दिनका लागि देशैभरिका कम्युनिस्ट आन्दोलनका योद्धाहरू, नेपाल कम्युनिस्ट पार्टी एमालेका योद्धाहरू यही चैत्र ४ र ५ गतेका दिन भेला हुनुभएको छ। साढे चार हजारदेखि ५ हजारको उपस्थितिमा भएको त्यो भेलाले घोषणा गरेको छ कि हामी कम्युनिस्ट पार्टीको एकताको पक्षमा छौं। कम्युनिस्ट आन्दोलनलाई सबै खालका विकृति विसंगतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरूप दिने पक्षमा छौं र हामी आम जनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरि जीवन्त गराउने पक्षमा छौं। गतिशील बनाउने पक्षमा छौं।’
आफूहरूको विचार मार्क्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको उनले बताए। आफूहरू सामाजिक न्याय सहितको आर्थिक रूपान्तरणको पक्षमा रहेको नेता नेपालले बताए। विचार, संगठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि नेता नेपालले स्पष्ट पारे।
पार्टीले ६ महिनाका लागि निलम्बन गरेपछि नेता नेपाल समानान्तर गतिविधिलाई अघि बढाउने पक्षमा देखिएका छन्। त्यसैक्रममा एमालेको खनाल(नेपाल पक्षीय युवासंघको छुट्टै कार्यालय सञ्चालनमा आएको हो।


























