काठमाडौं, चैत्र १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको एकता बदर गर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले सच्याउँने विश्वास व्यक्त गरेका छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सर्वोच्चले उक्त निर्णय सच्याउनेमा आफू विश्वस्त रहेको बताए।
उनले विगतमा पनि कतिपय फैसला पुनरावलोकनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको उल्लेख गरे। ‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ।’ उनले भने, ‘यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ।’
नाम सम्बन्धमा रिट निवेदकको निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पुनरावलोकन गर्ने विश्वास प्रचण्डको थियो। यस्तै, फागुन २३ को फैसलाविरुद्ध न्यायिक पुनरावलोकन निवेदनमा प्रचण्डले ओलीको नाम नलिई सो फैसलाले कसैको राजनीतिक अभिष्ट पूरा गरिदिएको र कसैलाई असहज बनाइदिएको बताएका छन्।
रिट निवेदनमा भनिएको छ, ‘कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि र कोही पनि बाँकी रहने छैन। त्यसको प्रत्यक्ष प्रभावको भागीदार स्वयं अदालत बन्नुपर्ने स्थिति आउन सक्छ।’
प्रचण्डले रिट निवेदनमा सो फैसला पुनरावलोकन हुनुपर्ने माग गरेका छन्। नेकपा नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) ले पुनरावेदन निवेदन दिएको हो।


























