चितवन । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएकाे संस्था राष्ट्रिय अपाङ्ग महासंघ संघीय परिषदले शनिबार चितवनमा राष्ट्रिय भेला आयाेजना गर्दैछ। भेलामा सहभागी हुन देशभरबाट करिब ६०० जना चितवन आइसकेका छन्। राष्ट्रिय अपाङ्ग महासघ संघीय परिषदका अध्यक्ष मित्रलाल शर्माका अनुसार देशभर ३३१ वटा संस्था रहेकाले ती सबै संस्थाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरु चितवन जिल्लामा आइसकेका छन्।
देशभरका सबै जिल्लाका प्रतिनिधिहरुलाई सहभागी हुन केन्द्र भागमा पर्ने हुँदा यसपटककाे भेलाकाे लागि चितवन जिल्ला छनाैटमा पारेकाे उनले बताए। चितवनमा राष्ट्रियस्तरको भेला याे पहिलाेपटक हाे। देशभर शारिरीकरुपमा अशक्त भएका व्यक्तिहरुकाे संख्या एकीन छैन। अपाङ्गता भएका व्यक्तिहरु सहज रुपमा खुल्न हिच्किचाउने र दुर्घटनाबाट अंगभंग भएकाहरु घरमै बस्ने हुँदा एकीन तथ्यांक नभएकाे उनले बताए।
चितवन जिल्लामा भने एकीन तथ्यांक नभए पनि करिब १५ हजारकाे हाराहारीमा रहेकाे अपाङ्ग समाज चितवनका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए। अपाङ्गता भएका व्यक्तिलाई राज्यले दिने सुविधा लिएकाहरुकाे तथ्यांककाे आधारमा याे संख्याकाे अनुमान लगाएकाे उनले बताए।
३३ जनालाई ह्वीलचियर
अपाङ्ग समाज चितवनले शुक्रबार ३३ जनालाई ह्वीलचियर वितरण गरेकाे छ। राष्ट्रिय अपाङ्ग पुनर्स्थापना केन्द्र काठमाडाैंकाे सहयाेगमा भरतपुर महानगरपालिकाभित्र रहेका ३३ जनालाई ह्वीलचियर वितरण गरिएकाे समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए। उनका अनुसार तीमध्ये १५ जनाले रफ राइडर र १० जनाले ट्राई साइकल पाएका छन् भने ८ जनाले ह्वीलचियर पाएका छन्। शारिरीकरुपमा अशक्त भएका व्यक्तिहरुकाे यात्रामा सहज हाेस् भन्ने उद्देश्यले यी सामग्री वितरण गरिएकाे उनको भनाइ छ।


























