चितवन । भरतपुर महानगरपालिकाले गौरवका आयोजना रुपमा लिएका विकास निर्माणको गुणस्तर र प्रगतिबारे बुधबार सरोकारवाला निकायसँग छलफल गरेको छ। छलफलका क्रममा स्थानीय तहअन्तर्गतका विकास निर्माणको कामले गति लिए पनि प्रदेश र संघअन्तर्गतका विकास निर्माणले गति लिन नसकेको निष्कर्ष निकालेको छ। भरतपुर महानगरपालिकाभित्र संघ र प्रदेशअन्तर्गत सञ्चालनमा रहेका आयोजनाको प्रगति विवरण सन्तोषजनक नभएको महानगर प्रमुख रेनु दाहालले बताइन्। स्थानीय तहअन्तर्गतका मात्र नभई संघ र प्रदेशमातहतका विकास निर्माणको कामलाई पनि तीव्रता दिन निर्माण व्यवसायीलाई उनले आग्रह गरिन्।
६ लेन पुल्चोक–गोन्द्राङ सडक र महानगरीय सिटीहल निर्माणको काम छोटो समयमै प्रगतिको विन्दुमा पुगिसकेको दाबी गर्दै महानगर प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरपालिकाभित्रका सबै आयोजनामा भएको ढिलाससुस्तीबारे महानगरको ध्यानाकर्षण भएको छ, त्यसैले यथासक्य काम सम्पन्न गर्नतर्फ निर्माण व्यवसायीको ध्यान जाओस्।’ महानगरकै कारण कुनै काम रोकिएको हो भने समस्या समाधान गर्न महानगरले पहल गर्ने उनको भनाइ छ।
तर, आफ्नो काममा जिम्मेवार बन्न निर्माण व्यवसायीलाई उनले आग्रह गरिन्। जुनसुकै विकास निर्माणको काममा मातहतका कार्यालयका प्रमुखहरूले पनि तदारुकता देखाउनुपर्ने उनले बताइन्। देवघाटको शवदाहस्थल, रानीपोखरी पार्क, लक्ष्मीनारायण मन्दिर र पुलचोक बाह्रघरे सडक, सहिदचोक कचपचे चोकसहितका प्याकेज २ का कामहरूको एक महिनाभित्रमा कार्यप्रगति दोब्बर हुनैपर्ने उनले बताइन्।
छलफलमा सहभागी चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले विकास निर्माणका लागि विपद व्यवस्थापनको पक्षलाई पनि ध्यान दिएर कुनै पनि पूर्वाधारमा क्षेति नपुग्ने गरी काम गर्नुपर्ने बताए। जिल्ला प्रशासन कार्यालयले गुणस्तरीय विकास निर्माणमा आवश्यक समन्वय गर्ने पनि उनले प्रतिवद्दता जनाए।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख कृष्ण अधिकारीले व्यक्तिका घर तथा संरचनाका साथै बिजुलीको पोल र खानेपानीका पाइपजस्ता अन्य विकासका पूर्वाधारको समयमै व्यवस्थापन हुन नसक्दा सडक निर्माणले गति लिन नसकेको बताए। भवन निर्माण तथा सहरी विकास आयोजना प्रमुख प्रकाश अर्यालले भरतपुर क्षेत्रमा साना–ठूला गरी २२ वटा आयोजनाको काम भइरहेको बताए। त्यसमध्ये पनि केही काम सम्पन्न भइसकेको उनको भनाइ छ।
प्याकेज १ मा ५५, २ मा ५७ र प्याकेज ३ मा ६० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ। साथै बिरामी कुरूवा घर निर्माण सम्पन्न भइसकेको उनले बताए। रानीपोखरी पार्क र लक्ष्मीनारायण मन्दिरको प्रगति भने सन्तोषजनक नरहेको उनको भनाइ छ। हरेक वर्ष हुने निर्माण सामाग्री तथा नदीजन्य वस्तुको अभावसँगै क्रसर उद्योग बन्द गरिनुले पनि विकास निर्माणको काममा प्रगति हुन नसकेको बताए।


























