सुर्खेत, फागुन २५ । दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन्।
३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्। नदीमा फाल हालेकामध्ये दुई छोरीको शव अछाममा भेटिएको प्रहरीले जनाएको छ। १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ मा फेला परेको प्रहरीले जनाएको छ।
आमा सुकी, १० वर्षीय ललित र पाँच वर्षीया रजनीको खोजी जारी रहेको प्रहरीले जनाएको छ। मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएपछि उनीहरुले कर्णालीमा हाम्फालेको अनुमान प्रहरीको छ। केही स्थानीयबासीले पनि उनीहरूले हाम फालेको देखेको बताएपछि प्रहरीले उनीहरूको खोजी शुरू गरेको थियो।
सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दैनिक मदिरा सेवन गरेर घर पुग्ने गरेका मानसिंह र सुकीबीच झगडा हुने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। तर, उनीहरुले हाम फाल्ने अवस्थाका बारेमा केही पनि खुल्न सकेको छैनन्।
























