काठमाडौं, फागुन २३ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ। खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका थिए। उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो। भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो।
सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिँदै छ। यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो।
५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक गौतमले बताए। मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ। हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ।


























