चितवन, फागुन २०। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीबाहेक अन्य दलसँग मिलेर काम गर्न सकिने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘अहिलेको राजनीतिमा केपी शर्मा ओली दोषी र अभियुक्त हो, उहाँबाहेक अन्य दलसँग सहकार्य गरेर काम गर्न सकिन्छ। तर, हामी सरकारमा किन जाने भन्ने विषयमा छलफल गनुपर्छ।’ कांग्रेसले आफ्नो ठाउँ र हैसियतमा रहेर अरुलाई नै सरकार चलाउन सघाउ पुर्याइदियो भने देश विकासमा पार लाग्न सक्ने उनको भनाइ छ। ‘तर केपी ओलीलाई समर्थन गर्नु भनेको कांग्रेसले नैतिकता गुमाउनु हो,’ उनले भने।
पुष्पकमल दाहालले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए छिमेकी मुलुकलाई सहज हुन्छ भन्ने प्रसंगमा नेता पौडेलले भने, ‘चीन, भारत, अमेरिकालाई कम्फर्टेबल हुनुपर्छ भन्ने होइन, हाम्रो देशलाई नै कम्फर्टेबल हुनुपर्छ। नेपालको सिस्टममा हुनुपर्छ, अरु देशको लागि होइन। संविधान र व्यवस्थालाई बचाउनतर्फ लाग्नुपर्छ।’
पार्टी सभापति शेरबहादुर देउवाले बुधबार चितवनमै भएको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति नेता पौडेलले देउवाको बुझाइमा कमजोरी भएको बताएका छन्। ‘हिजो मैले बोलेका कुराको जवाफ दिइरहनुपर्ने आवश्यकता नै थिएन, त्यसैले मेरो भनाइको जवाफतर्फ नलाग्नुभएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘देउवाजीको बुझाइमा पूर्णता ठानिनँ मैले। उहाँलाई जवाफ नै दिनुपर्ने गरी बोलेको थिइनँ।’


























