चितवन, फागुन १० । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ। बाहिर अनेक हल्ला फिजाएपनि समयमै निर्वाचन हुनेमा आशंका नगर्न उनले आग्रह गरे।
चितवनको भरतपुरमा आयोजित ओली समूहको नेकपा जिल्ला अधिवेशन आयोजक कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे।
‘लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण राजनीतिक शक्तिहरू निर्वाचनमा जान्छन्,’ उनले भने, ‘बाहिर गरिएको हल्लाको पछि नलाग्नुस्, ढुक्स हुनुस् निर्वाचन हुन्छ।’ निर्वाचनका तयारीका लागि सबै सुरक्षा निकाय तथा निर्वाचन आयोगसमेत तयार रहेको उनको भनाइ छ।
सोमबार ओली पक्षीय नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटीले ५ सय ९९ सदस्यीय कमिटी घोषणा गरेको छ। जिल्ला कमिटी घोषणा गरेसँगै उनीहरूलाई सचिवालय सदस्य पोखरेलले सपथग्रहण गराउनुभएको थियो।


























