काठमाडौँ, फागुन ८ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दाहाल(नेपाल समूहलाई पार्टीमै फर्किन आग्रह गरेका छन्।
ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-प्रचण्डहालै अझै केही नबिग्रिएको बताउँदै पार्टीमै फर्किन आग्रह गरेका हुन।
उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्न लागेको गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै थाप्न सकिन्न।’
उनले ‘प्रचण्ड’लाई गलत बाटोमा हिँडेको आरोप समेत लगाए।
उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ। पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ। अब उनलाई झाँक्रीले बचाउन सक्दैनन्। उहाँ गलत बाटोमा हुनुहुन्छ। सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफैँ सकिएको पत्तो छैन।’
उनले सरकार विकासको गतिमा दृढ रहेको बताए। दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ।’
उनले केही मानिसहरु यो पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए।
उनले भने, ‘उनीहरुले अस्ती केपी ओलीजी जनताको सभा हेर्न यता आउनुहोस् भनेर धाक लगाउँदै थिए, म भन्न चाहान्छु तपाईंहरु यता आउनुस् जनसभा हेर्न, आजको सभा कत्रो छ भन्ने।’
उनले विराटनगरको जनसभालाई ड्रोनले समेत खिच्न नसकेको दाबी गरे।


























