फागुन ८ । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन्। दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो।
केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो। तर, शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको समाचारमा जनाइएको छ।
बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ।
महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन्। राजपरिवारको सदस्यका रूपमा उनीहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेको थियो।
उनीहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहेका छन्। सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो। दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन। हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका थिए। एजेन्सी


























