काठमाडौं, माघ २४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छन्।
भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिइन्।
‘तपाईंहरुले निश्चित अधिकारमात्रै दिइएको छ,’ उनले भनिन्, ‘ऐनविपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ। एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ।’
मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन।
‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरुलाई प्रभावित बनाउने समूह आउँछ,’ उनको भनाइ थियो, ‘यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला।’
आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन् गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरिन्। सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो। २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ। मन्त्री तुम्बाहाङ्फेले आयोग निर्माणमा सकभर महिलासहित जातीय क्लस्टर मिलाउने अधिकतम् प्रयास गरिएको जानकारी दिइन्।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको जिम्मेवारीसमेत यस आयोगको काँधमा रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। आयोगको कामले सरकारको इमेज देखिने भएकाले बिचौलिया र दलालबाट हुने चलखेलप्रति सचेत रहन अपिल गरे।


























