माघ २१ । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको नक्कली खोप बनाएको भन्दै ८० जनालाई पक्राउ गरेको छ। चिनियाँ समाचार एजेन्सी सिह्वाका अनुसार उनीहरुले तीन हजार डोज कोरोना खोप उत्पादन गरेका थिए। सोमबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार गत सप्टेम्बरदेखि नै उनीहरुले खोप निर्माणको काम गर्दै आएका थिए। चिनियाँ प्रहरीले अहिले सबै नक्कली खोपहरु नष्ट गरिएको बताएको छ।
प्रहरीले दिएको जानकारीअनुसार आरोपीहरुले स्लाइनलाई सिरिन्जमा तानेर नक्कली खोप तयार पार्थे। प्रहरीका अनुसार उनीहरुको उद्देश्य नक्कली विदेश पठाउनु थियो। समाचारमा उल्लेख गरिएअनुसार अहिले चीनले यस विषयमा अनुसन्धान गरिरहेको छ।
चीनले आफ्ना नागरिकहरुलाई सिनोभ्याक र सिनोफर्मले बनाएको खोप लगाइरहेको छ। यी खोपले टर्की, ब्राजिल, यूएईलगायत मुलुकमा पनि अनुमति पाइसकेका छन्।
चिनियाँ प्रहरीले बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा चालेको अपरेसनको क्रममा नक्कली खोप बनाउने मानिसहरु पक्राउ परेका हुन्। अहिले विश्वभर कोरोना महामारी अन्त्यको लागि व्यापक मात्रामा खोपको माग भइरहेको छ भने उत्पादकलाई पनि माग धान्न गाह्रो भइरहेको छ।

























