काठमाडौं, माघ १९ । प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूहरुको पार्टीलाई आधिकारिक पार्टी दाबी गर्दै निर्वाचन आयोगमा लैजाने निर्णय गरेको छ।
सोमबार बसेको पार्टीको चौथो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। उक्त बैठकले ओली समूहका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गर्ने र महासचिव विष्णु पौडेललाई सो पदबाट हटाउने निर्णय पनि गरेको छ।
ओली समूह र प्रचण्ड–नेपाल समूहले आफ्नो पार्टीलाई आधिकारिक मान्दै आएका छन्। दुवै समूहले निर्वाचन आयोगलाई पत्र लेखेर आफ्नो पार्टी आधिकारिक भएको दाबी गरेका थिए।
निर्वाचन आयोगको गत माघ ११ मा बसेको बैठकले भने दुवै पक्षका दाबीलाई अस्वीकार गरेको थियो। आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य रहेको केपी ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई मान्यता दिएको थियो। निर्वाचन आयोगमा कहिले जाने भन्नेबारे अझै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।


























