काठमाडौं, माघ १९ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएकोमा विरोध जनाएका छन्।
अध्यक्ष तिमल्सिनाले सभामुखको कदमले राष्ट्रियसभाको गरिमामा प्रहार भएको आरोप लगाएका छन्। सभामुखको पत्रमा संघीय संसद र संसदीय समितिहरुको सञ्चालन, व्यवस्थापन समेतको अधिकार आफूमा निहित भएको भन्ने व्यहोरामा उनले आपत्ति प्रकट गरेका हुन्। उनले भने, ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो।’
अध्यक्ष तिमल्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको पत्रप्रति आपत्ति जनाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गरी गत पुस ३ गते बैठक राखेर विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका लागि ४५ जनाको नाम सिफारिस गरेका थिए।
बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए। प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भएको बैठकमा नियुक्तिको सिफारिस गरेको थियो। सभामुख सापकोटाले भने नियुक्ति सिफारिससम्बन्धी पत्र आइतबार संवैधानिक परिषदमै फिर्ता पठाएका थिए।


























