काठमाडौं, माघ १९ । नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४०० केभीको ढल्केवर जीआईएस (स्वचलित) सबस्टेशनको आज सोमवार औपचारिक उद्घाटन हुने भएको छ। गत कात्तिक २६ गते नै सबस्टेशन पूर्ण रूपमा चार्ज गरिएको थियो। आज (सोमवार) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सबस्टेशनको उद्घाटन गर्न लागिएको हो।
यो ४०० केभीको पहिलो स्वचालित सबस्टेशन हो। नेपाल विद्युत् प्राधिकरणले रू। २२ करोड ४३ लाखको लगानीमा सबस्टेशन बनाएको हो। प्राधिकरणले २०१७ डिसेम्बरमा लिन्सन इन्डिया प्रालि (साविकको एबीबी इन्डिया लिमिटेड) लाई उक्त सबस्टेशन बनाउन जिम्मा दिएको थियो। कम्पनीले सबस्टेशन निर्माण गरिसकेपछि औपचारिक उद्घाटन गर्न लागिएको हो।
धनुषास्थित ढल्केवर सबस्टेशनमा आज ११ बजे उद्घाटन समारोह कार्यक्रम हुने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए। उद्घाटन समारोहमा भारतको तर्फबाट विद्युत् व्यापार कर्पोरेशन, पावर ग्रीड इन्डियाका पदाधिकारीहरूको पनि उपस्थिति हुने बताइएको छ। ढल्केवर सबस्टेशन नेपालको सबैभन्दा ठूलो सबस्टेशन हो। ४०० केभीको यो सबस्टेशनमा ३१५ एमभीएका तीनओटा ट्रान्सफर रहेका छन्।
यसैगरी त्यसमा जीआईएस लाइन वे नौओटा रहेको छ। हेटौंडा, इनरुवा तथा मुजफ्फरपुर प्रसारणलाइनका लागि नौओटा जीआईएस लाइन राखिएको हो। जीआईएस ट्रान्सफर्मर तथा रियाक्टर भने ६ थान राखिएको छ।
सबस्टेशन सञ्चालनमा आएसँगै ४०० केभीको ढल्केवर मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल र भारतबीच १ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिनेछ। साथै, ४०० केभीकै हटौंडा ढल्केवर प्रसारण लाइनबाट २ हजार मेगावाट र इनरुवा ढल्केवर ४०० केभी प्रसारणलाइनबाट २ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने प्राधिकरणको भनाइ छ।
सोही सबस्टेशनमा रहेको ढल्केवर र २२०/१३२ केभी सबस्टेशनलाई प्रयोग गरेर खिम्ती ढल्केवर प्रसारण लाइनबाट ६०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिनेछ। हालै क्षमता विस्तार गरिएको अर्को २२०/१३२ केभीकै सबस्टेशनलाई प्रयोग गरेर पनि ६०० मेगावाट विद्युत् २२० केभीबाट १३२ केभीमा तथा १३२ बाट २२० केभीमा आदानप्रदान गर्न सकिनेछ।
प्राधिकरणका प्रवक्ता तिम्सिनाले नेपाल भारतबीच विद्युत् आदानप्रदान गर्न अब ढल्केवर सबस्टेशन उपयुक्त माध्यम हुने बताए। ‘नेपालले भारतीय बजारमा निकट भविष्यमा ठूलो मात्रामा विद्युत् विक्री गर्ने योजना बनाएको छ। अबको दिनमा उत्पादन हुने विद्युत्लाई भारततर्फ निकासी गर्न यो सबस्टेशन उपयुक्त हुनेछ,’ उनले भने।

























