काठमाडौं, माघ १५ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ। आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो।
शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन। तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ।
आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउा लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए। त्यस्तै निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उनको भनाइ छ। यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो।


























