काठमाडौँ, माघ १२ । नेपाल सरकारको सार्वजनिक ऋण बढेर १४ खर्ब रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार गएको मङ्सिर महिनासम्म सरकारको सार्वजनिक ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ पुगेको हो।
यो रकम गएको साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो। गएको साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो।अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म सरकारको ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ। यसमध्ये ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक र आठ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ।
चालु आर्थिक वर्षको पाँच महिनामा आन्तरिकतर्फ १२ अर्ब २३ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ। बाह्यतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ सावाँ र दुई अर्ब ६२ करोड रुपैयाँ ब्याज गरेर पाँच महिनामा सरकारले ३२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको छ। समग्रमा सरकारले पाँच महिनामा ४४ अर्ब ७९ करोड रुपैयाँ सावाँ र ब्याज भुक्तानी गरेको छ।
सरकारको कुल ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँलाई अहिलेको नेपालको जनसङ्ख्या तीन करोड २२ लाख एक हजार सात सय पाँच जनाले भाग गर्दा हरेक नेपालीको भागमा ४६ हजार तीन सय ५४ रुपैयाँ ऋण पर्न आउँछ।


























