चितवन, माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले नेकपाले शक्ति प्रदर्शनका नाममा देशलाई मुठभेडतर्फ धकेलेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले नेकपाकै कारण देशमा अस्थिरता र अराजतकता सिर्जना हुने खतरा बढेको बताए।
अराजकता बढ्दै जाँदा राष्ट्रियतामाथि नै खतरा बढ्ने उनले बताए। ‘आफ्नो स्वार्थका लागि शक्ति प्रदर्शन गर्ने नाममा अदालतलाई प्रभावित पार्ने काम गर्दा संविधान नै धरापमा पर्न सक्छ’, उनले भने। देशलाई संकटबाट मुक्त गर्न आफ्नो पार्टीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
संविधान र सर्वोच्च अदालतलाई नधम्काउन उनले दलहरुलाई समेत आग्रह गरे। ‘संविधानले नै संवैधानिक विवादको निराकरण गर्ने जिम्मा सर्वोच्च अदालतलाई दिएको छ’, उनले भने, ‘संविधान निर्माणमा भूमिका खेलेको भनिएकाहरुले नै सर्वोच्चलाई धम्काउने, तर्साउने लगायतका गतिविधि गरेका छन्।’ सर्वोच्चलाई अनुचित प्रभाव पार्नु भनेको संविधानको मूल्य र मान्यतालाई कमजोर बनाउनु रहेको उनले बताए। विदेशीको चलखेल तीव्ररूपले बढेको भन्दै उनले ०६२(६३ पछि अवलम्बन गरिएको बाटोले गर्दा अहिले देश संकटमा परेको बताए।


























