चितवन, माघ १० । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीमा निर्माणाधीन सबै पुलहरुको निर्माण कार्य रोकिदिएको छ। निर्माणाधीन केहि पुलहरुको कानुन बमोजिम वातावरणीय अध्ययन प्रतिबेदन पेस नगरेकाले निकुञ्ज प्रशासनले तत्कालका लागि निर्माण कार्य रोक्न निर्देशन दिएको हो।
निकुञ्ज प्रशासनले नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीमा निर्माणाधीन अवस्थामा रहेका चिताई, मगोई, रौतने, बाँदरमुढे, परुई, रीउ लगायतका करीब एक दर्जन खोलाहरुको पुल निर्माण कार्य रोकिदिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।
‘उक्त क्षेत्रबाट प्रयोग भैरहेका नदिजन्य पदार्थहरुको नियमानुसारको राजस्व तिर्न पटक पटक अनुरोध गर्दै आएको भएतापनि हालसम्म प्रारम्भीक वातावरणीय परीक्षण (ई.आई ए) कार्य बाँकी रहेको भन्दै निकुञ्जले तत्काल काम रोक्न लगाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले लगातार न्यूजसंग भने’।
माडीमा अहिले ११ वटा पुल निर्माण हुँदैछ। वातावरणीय अध्ययन नभएको (राजस्व शुल्क) नतिरेको ८ वटा पुल रहेका छन्। यी सबै पुलहरुको निर्माण कार्य निकुञ्ज प्रशासनले तत्कालका लागि रोक्न निर्देशन दिएको छ।


























