चितवन, माघ ८ । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ। ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन्। पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा ३४ वटा दुर्घटनामा छ जनाको मृत्यु र पृथ्वी राजमार्गमा भएका १२ दुर्घटनामा सात जनाको मृत्यु भएको छ। भरतपुर नगर (रिङरोड) मा भएका ३७ दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य सडमा भएका ५८ दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना मङ्सिरमा भएका छन्। मङ्सिरमा मात्र ५२ दुर्घटना भएको कार्यालयले जनाएको छ। चालु आवको पुस मसान्तसम्म सवारी दुर्घटनामा परी मृत्यु हुने ५८ जनामध्ये पुरूष ४८, महिला छ, बालक एक र बालिका तीन जना रहेका छन्। छ महिनाको अवधिमा भएका २१६ वटा दुर्घटनामा ३३६ सवारीसाधन संलग्न भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १६३ वटा मोटरसाइकल रहेका छन्।
जिल्लामा भएका दुर्घटनामा तीव्र गति मुख्य कारण रहेको उनको भनाइ छ। तीव्र गतिका कारण १६१ वटा दुर्घटना भएको छ। चालकको लापर्बाहीले ३८, ओभरटेकका कारण १०, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सात र यात्रुको गल्ती र यान्त्रिक खराबीका कारण एक/एक वटा दुर्घटना भएको उहाँको भनाइ छ। राजधानी प्रवेश र बाहिरिने मुख्य सडक यसै जिल्ला हुँदै जाने भएकाले सवारी दुर्घटना बढी भएका छन्। जिल्लाका अधिकांश भागमा सवारी साधन पुग्ने र सडकको अवस्था राम्रो नभएकाले पनि दुर्घटना बढेका हुन्। रासस


























