मुम्बई, माघ ७ । ‘बाहुबली’ फेम अभिनेता प्रभासको नयाँ फिल्म ‘सलार’को हैदाराबादमा सुटिङ सुरू भइसकेको छ। केही दिन अघिमात्र फिल्मको सेटमा मुहुर्त पूजा गरिएको थियो। पूजामा ‘केजीएफ २’ स्टार यश पनि उपस्थित थिए। उनीहरुको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो।
फिल्ममा अभिनेत्रीका लागि ‘बागी’ स्टारर अभिनेत्री दिशा पटानी फाइनल भइसकेको समाचार केही दिन अघि आएको थियो। तर अहिले भने फिल्ममा दिशाको स्थानमा कटरीना कैफ फाइनल भइसकेको नयाँ खबर आएको छ। फिल्मका निर्माताले दिशालाई भन्दा पनि कटरीनालाई बढी मनपराएका छन्।
यद्यपि निर्माताले हालसम्म यो विषयमा कुनै घोषणा गरेका छैनन्। तर यो घोषणा भयो भने दक्षिण भारतीय फिल्मका लागि एउटा ठूलो सफलता साबित हुने त्यहाँका फिल्म विश्लेषकहरुको बुझाइ छ।
यदी कटरीनाले यो फिल्ममा काम गर्न सहमति जनाइन् भने उनका लागि यो निर्णय घर फर्किए सरह हुनेछ। किनकी सन् २००५ मा नन्दमुरी बालकृष्ण स्टारर फिल्म ‘अल्लारी पिद्दुगु’ पछि कटरीना कुनै पनि टलिउड फिल्ममा देखिएकी छैनन्। उनले सन् २००४ मा फिल्म ‘मल्लेसवरी’बाट तेलुगु फिल्ममा पाइला चालेकी थिइन्। त्यसपछि उनी बलिउडमा नै व्यस्त भइन्। एजेन्सी


























