काठमाडौं, माघ ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन्। काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका हुन्।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले नेपाली जनता हसाएको दाबी गर्दै जनता हँसाएकोमा केही व्यक्ति चिढिएको टिप्पणी गरेका थिए।
ओलीको सोही भनाई जवाफ दिँदै प्रचण्डले ७० वर्षको संघर्षबाट प्राप्त संविधानको हत्यापछि केपी ओली हाँसेर बसेको टिप्पणी गरे। ‘अहिले देश संविधानको हत्या भएको। हामी हाँस्न सक्दैनौं’, उनले भने।
ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको प्रचण्डको आरोप थियो। ओलीको प्रतिक्रियावादीहरुसँग साँठगाँठ बढेको भन्दै पतनको बाटो आफुहरुका लागि अस्वीकार्य भएको प्रचण्डको भनाई थियो।


























