चितवन, पुस २६ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजबाट चरा गणना थालिने भएको छ। नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो।
मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो। गणनाको नेतृत्व गरेको वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ।
चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ। कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ। लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ। निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ।
बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उनले जानकारी दिए। बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ। नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ। यस वर्ष पहिलोपटक विस्तृतरुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ।
जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ। पचास भन्दा बढी गणक सहभागी हुने बिडारीको भनाइ छ। ६ दिनभित्र गणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ । गतसाल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए। तीमध्ये ५७ जल प्रजातिका थिए।
देशभरमा यो सङ्ख्या ८८७ रहेको छ। चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ। उनका अनुसार रु एक लाख ८० हजार हाराहारी गणनामा खर्च गरिँदै छ।

























