काठमाडौं, पुस २५ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफैैले हस्ताक्षर गरेको संविधानलाई बलात्कार गरेको बताएका छन्। उनले आफैले हस्ताक्षर गरेको र प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएपनि संसद् विघटन गरेर संविधानको बलात्कार गरेको बताएका हुन्।
‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद् भंग गर्नुभयो। उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थाल्नुभयो’, नेता खनालको भनाइ छ। नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौँमा भएको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन्।
‘प्रधानमन्त्री भएदेखि नै ओलीले अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याउनुभयो र तानशाह बन्ने प्रयास गर्नुभयो’ नेता खनालको भनाइ छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाबाट संविधान बनाएपनि ओलीका कारण समाजवादको लक्ष्यमा सरकार हिँड्न नसकेको बताए।
समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै उनले यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाए। पछिल्लो निर्वाचनपछि सरकार बेनपछि केपी ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै लागेको भन्दै समाज परिवर्तनमा कुनै ध्यान नदिएको बताए। आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएपनि उनले जनताको सम्मृद्धि आकाँक्षा पुरा नगरी पार्टीलाइै भर्याङमात्र बनाएको बताए।


























