चितवन २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजित बनेकाे नेकपाका दुवै खेमाले साेमबार चितवनमा छुट्टाछुट्टै भेला आयाेजना गरेकाे छ। ओली खेमाकाे नेकपाले भरतपुरकाे वसन्त चाेकस्थित स्मार्ट पार्टी प्यालेसमा नेताहरु रामबहादुर थापा, शंकर पाेखरेल, महेश बस्नेत, काशीनाथ अधिकारी र आनन्द पाेखरेलकाे उपस्थितिमा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ भने प्रचण्ड-नेपाल खेमाकाे नेकपाले भने नेकपा भरतपुर महानगरकाे पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेला नाम दिएर केन्द्रीय नेताहरु भीम रावल, याेगेश भट्टराई, नारायण दाहाल, रामकुमारी झाँक्री, रेनु दाहाललगायतका नेताहरुकाे उपस्थितिमा भेला गर्न लागेकाे हाे।
दुवै खेमाले एउटै समयमा कार्पायक्रम आयाेजना गरेपछि त्यसले सामाजिक सञ्जालमा समेत पक्ष विपक्ष बनाएर आराेप प्रत्याराेपकाे अवस्था सिर्जना गरेकाे छ। दुवै पक्षले आ-आफ्नाे पक्षकाे भेलामा उपस्थित हुन सामाजिक सञ्जालमार्फत आग्रह गर्दै आएकाे छ।केन्द्रीय तहमै पार्टी विभाजन भएपछि जिल्ला तहमा पनि त्यसको प्रभाव परेको हो। अहिले पालिका स्तरमासमेत नेकपा ओली समूह र प्रचण्ड-नेपाल समूहको छुट्टाछुट्टै भेला भइरहेका छन्।
प्रचण्ड र थापा दुवैजनाकाे गृह जिल्ला भएकाेले चितवनमा हुन लागेकाे दुवै कार्यक्रमले ठूलाे महत्त्व राख्ने अपेक्षा गरिएकाे छ। साेमबारकाे भेलालाई दुवै समूहले शक्ति प्रदर्शनको रुपमा समेत लिएका छन्। दुवै समूहले बढी भन्दा बढी कार्यकर्ता उतार्न पूर्व तयारीसमेत गरेका थिए।


























