चितवन ११ पुस । तमू प्ये ल्हु संघ चितवनले शनिबार ल्हाेसार पर्व मनाएकाे छ। नारायणी नदी किनारमा बृहत् कार्यक्रम आयाेजना गरेर यसवर्षकाे ल्हाेसार पर्व मनाएकाे हाे। साेही क्रममा गरुङ अगुवाहरुले देशभरका गुरुङ समुदायले जातीय पहिचान प्राप्त गर्नकाे लागि जनगणनामा वास्तविक धर्म लेखेर आफ्नाे पहिचान स्थापित गराउन आवश्यक रहेकाे बताएका छन्। कार्यक्रमलाई सम्बाेधन गर्दै तमू प्ये ल्हू संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले २०७८ सालमा हुने जनगणनामा गुरुङ समुदायले आफ्नाे धर्मकाे स्तम्भमा ‘वाेन धर्म’ लेख्न आग्रह गरे। ‘हामीले अहिलेसम्म अरु समुदाय र अरु धर्म मान्नेहरुसँग प्रभावित भएर उनीहरुकै पछि लागेर विभिन्न खालका धर्मलाई आफ्नाे धर्म मान्दै आयाैँ, त्यसैले हाम्राे वास्तविक पहिचान गुमाउने खतरा बढ्दै गएकाेले आउँदाे जनगणनामा सबै गुरुङहरुले धर्मकाे स्तम्भमा वाेन धर्म भनेर लेखाैँ,’ उनले भने। पहिचान नै नभए कुनै दिन जाती नै हराउन सक्ने हुँदा त्यसबाट बच्न आजैदेखि आफू सच्चिनु पर्ने उनकाे भनाइ छ।
पूर्व मन्त्री इन्द्रबहादुर गुरुङले भने राज्यसत्तामा रहेकाहरुसँग वर्षाैँदेखिकाे लडाइँ जारी रहेकाे बताए। आदिवासी जनजाति समुदायबाट राज्य सञ्चालन गर्ने ठाउँमा उपस्थिति देखाउन नसक्नु र उपस्थिति भए पनि अन्य समुदायबाट दबिनुपर्ने बाध्यताले आदिवासी जनजातिकाे आवाजसमेत दबिएकाे बताए। ‘तर देशमा लाेकतन्त्र आइसकेकाेले हिजाेकाे जस्ताे अवस्था छैन,’ उनले भने, ‘संविधानले दिएकाे अधिकार हामीले सदुपयाेग गर्नुपर्छ।’ गुरुङहरुले पहिचान मात्रै माग्दा पनि राज्य सञ्चालन गर्नेहरुले दिन नमानेका कारण हरेक वर्ष पहिचानकै लडाइँमा हाेमिँदै पर्व मनाउन बाध्य भएकाे उनकाे भनाइ छ। ‘त्यसैले हामी आफैँले पहिचान स्थापित गराउनकाे लागि थर, भाषा, धर्म र भेषभूषाकाे संरक्षण गर्नु पहिलाे आवश्यकता हाे,’ उनले भने।
वागमनी प्रदेश सभा सदस्य रीना गुरुङले नेपालमा रहेका आदिवासी जनजाति समुदायमध्ये गुरुङ समुदाय सबैभन्दा बढी संस्कृतिकाे धनी भएकाेले बचाउनुपर्ने चुनाैती पनि यही समुदायलाई पर्ने गरेकाे बताइन्। तर प्ये ल्हु संघमार्फत संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएकाे उनले बताइन्। नयाँ पुस्तालाई समेत आफ्नाे भाषा र पहिचानबारे जानकारी गराउन विभिन्न खालकाे कार्यक्रम गर्दै आएकाेले गुरुङ संस्कृति संरक्षणमा प्रत्यक्षरुपमा ठूलाे याेगदान दिएकाे उनकाे भनाइ छ। तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष जगतबहादुर गुरुङले केन्द्रीय समितिकाे निर्णय र निर्देशनअनुसार चितवन जिल्लामा रहेका २२ वटै इकाइ समितिमार्फत वाेन धर्मबारे प्रचारप्रसार गर्दै आएकाे जानकारी दिए।

गुरुङ समुदायले हरेक वर्ष पुस १५ गतेलाई महान पर्वकाे रुपमा मनाउने गर्दछ। पुस १५ गते विभिन्न इकाइ तथा टाेलटाेलमा कार्यक्रम गरेर ल्हाेसार मनाउने हुँदा जिल्ला कार्य समितिले अवसर पारेर ११ गते नै कार्यक्रम गरेकाे संघका सचिव बिक्रम गुरुङले जानकारी दिए। यसवर्ष गुरुङ समुदायले मुसा वर्षलाई बिदाइ गर्दै गाई वर्गलाई स्वागत गरेर ल्हाेसार पर्व मनाउँदैछन्। प्ये ल्हु संघमातहतका गुरुङहरुले भने यसवर्षकाे ल्हाेसार पर्वमा गुरुङहरुकाे धार्मिक पहिचानकाे लागि २०७८ सालमा हुने जनगणनाकाे धार्मिक स्तम्भमा ‘वाेन धर्म’ लेख्ने अभियानलाई अघि सारेकाे छ।
कार्यक्रममा पत्रकार एवम् कलाकार सूचना गुरुङ र गायक तिलक गुरुङले गीत गाएर उपस्थित दर्शकलाई छमछमी नचाएका थिए। गुरुङ पहिरनमा सजिएर आएका गुरुङ युवायुवती दिनभर नाचेर माहाेललाई थप राेमाञ्चक बनाएकाे थियाे।
गुरुङ पत्रकार हीरालाल गुरुङलाई सम्मान
तमू प्ये ल्हु संघ चितवनले यसवर्षकाे ल्हाेसारमा कुरिनटारमा रहेकाे इच्छाकामना एफएमका समाचार प्रमुख एवम् राष्ट्रिय समाचार समिति (रासस) मुग्लिन संवाददाता हीरालाल गुरुङलाई सम्मान गरेकाे छ। समग्र गुरुङ समुदायकाे हकहितका साथै तमू प्ये ल्हु संघकाे हरेक कृयाकलापमा महत्त्वपूर्ण याेगदान दिएकाे भन्दै प्ये ल्हु संघले सम्मान-पत्रका साथमा र फेटा लगाएर सम्मान गरेकाे हाे।

























