दोहा, पुस ८ । ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।
एक साताका लागि ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिइने जनाएको छ। तत्काल ओमान(नेपाल तथा नेपाल(ओमानको यात्राका क्रममा रहेका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्न समेत दूतावासले अनुरोध गरेको छ।
ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको हुनेको सङ्ख्या १ लाख २८ हजार १४३ जना पुगेको छ। उपचारपछि निको हुनेको सङ्ख्य १ लाख १९ हजार ९४५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४९० जना पुगेको त्यहाँको स्वाथ्य मन्त्रालयले जनाएको छ।
कोरोना कहर बढदै गएपछि साउदी अरब, कुवेत लगायत अन्य विभिन्न देशले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन्। एजेन्सी


























