पुस ७ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो। खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन्।
यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए। उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन्। अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएका छन्। आइतबारदेखि मोदेर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ। त्यसको एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो। अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन्।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले डेलवरको नेवार्कमा खोप लगाएका हुन्। उनले खोप लगाउने क्रममा भने, ‘उपलब्ध भएका बेलामा खोप लगाउन मानिसहरु तयार हुन भनेर मैले यस्तो गरेको हुँ। खोपलाई लिएर चिन्ता गर्नु पर्ने कुनै कारण छैन।’
देशमा खोप अभियान सुरु गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई धन्यवाद दिनु पर्ने पनि बाइडेनले बताए। बाइडेनकी श्रीमती डा.जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन्। उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ।बाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ।
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ८० लाख भन्दा बढि पुगेको छ। यस्तै अहिलेसम्म तीन लाख १९ हजार अमेरिकीको कोभिड–१९ का कारण ज्यान गएको छ। एजेन्सी


























